प्रेस विज्ञप्ति

सर्वप्रथम त Gen-Z आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली एवं  प्रियजन गुमाएका शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छौँ । नेपालका Gen-Z को उत्साह, साहस र ऊर्जालाई हामी सलाम गर्दछौँ । सुशासन, न्याय, जवाफदेहिता र सकारात्मक परिवर्तनप्रतिको उनीहरूको प्रतिबद्धताले देशको सुन्दर भविष्यको आशा जगाइरहेको छ । उनीहरूको सक्रिय सहभागिताले लोकतान्त्रिक मूल्यहरूको शक्ति र युवा आवाजको दृढ संकल्पलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ ।

साथै आन्दोलनका क्रममा ऐतिहासिक महत्त्वका राष्ट्रिय  सम्पत्तिमा भएको विनाशप्रति पनि हामी दु:खित छौँ । यो हाम्रो राष्ट्रका लागि कठिन समय हो, र यस कठिन घडीमा प्रभावित सबैसँग हामी ऐक्यबद्ध छौँ ।

तर देशको पछिल्लो संवदेनशील र तरल अवस्थाको फाइदा उठाउँदै भ्रामक समाचार बनाई हाम्रो नामसमेत जोडी गरिएको अनर्गल प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको  छ ।

बारबरा फाउन्डेसन गैरनाफामूलक सामाजिक संस्था हो । यसको स्थापना एक जना अमेरिकी नागरिक जसको नाम बारबरा एडम्स थियो, उहाँले नेपाललाई आफ्नो कर्मक्षेत्र बनाएर आफ्नो जीवनको ऊर्जावान समय नेपाललाई दिनुभयो र आफूले आर्जेको सम्पूर्ण श्री सम्पत्ति यस संस्थालाई नै दिनुभयो । नेपाली माटोमै सम्पूर्ण जीवन बाँच्नु भएकी बारबराले नेपाली नागरिककै रूपमा यहीँ  देहत्याग गर्नु भएको थियो । स्वर्गीय बारबराको व्यक्तिगत सम्पत्तिको स्रोतबाट यो संस्थाको जन्म भएको हो । नेपाली नागरिकको सेवामा समर्पित होस् भन्ने उहाँकै चाहनाअनुरूप यो फाउन्डेसन स्थापित भएको हो ।

संस्थाको मुख्य उद्देश्य नेपालमा खोजपत्रकारिता पुरस्कार र वातावरण, प्रकृति, संस्कृति, सम्पदा संरक्षणका विषयमा फेलोसिप प्रदान गर्नु र टक सेरिज सञ्चालन गर्नु रहेको छ । फाउन्डेसनले झन्डै दर्जन टक सेरिज सञ्चालन, कोरोना महामारीमा अग्रपंक्तिमा खटिने नेपालभरका ८७ स्वास्थ्यकर्मी र उत्कृष्ट खोजमूलक पत्रकारिता गर्ने पत्रकारलाई पुरस्कृत गरिसकेको छ । हाम्रो उद्देश्य र कामबारे हाम्रै वेबसाइट barbarafoundation.org बाट पनि छर्लङ्ग हुन सकिन्छ ।

संस्थाको कोष समाज कल्याण परिषद्को नियमानुसार व्यवस्थापन हुन्छ । बारबरा एडम्सको नेपालप्रति रहेको प्रेमको कारण निजले मृत्युपश्चात आफ्नो सम्पत्ति बारबरा फाउन्डेसनले पाउने व्यवस्था गरेअनुरूप तहाँबाट हालसम्म करिब रू. २ करोड ८८ लाख प्राप्त गरेको र सोको कानुनबमोजिम सम्बन्धित निकायबाट स्वीकृतिसमेत प्राप्त गरेको छ ।

फाउन्डेसनको अधिकतम कोष नेपालीहरूकै दानबाट चलिरहेको छ । फाउन्डेसनले विगत ८ वर्षमा ब्याज आम्दानीलगायत कुल करिब रू. ७ करोड ८२ लाख प्राप्त गरेको छ । यसको वार्षिक बजेट करिब ५० लाख रुपैयाँ मात्र छ । यस अवधिमा आफ्नो कार्यक्रम एवं प्रशासनिक खर्चबापत करिब रू. ३ करोड ६४ लाख खर्च गरेको छ । हाल फाउन्डेसनसँग करिब रू. ३ करोड ९५ लाख बैंकमा मौज्दात रहेकोसमेत जानकारी गराउन चाहन्छौँ । फाउन्डेसनको आय-व्ययको सारांश फाउन्डेसनकै वेबसाइटमा समेत उपलब्ध छ ।

यस संस्था र यसका पदाधिकारीहरुको नाम जोडी ‘हामी नेपाल’ नामक संस्थासँगको सम्बन्धबारे अनर्गल प्रचारसमेत भइरहेको छ । ‘हामी नेपाल’ नेपाल भरि छरिएका युवाहरूको संगठन भएकोले कोभिड महामारीका बेलामा सहकार्य गरिएको हो । सो संस्था वा संस्थाका पदाधिकारीसँग हाम्रो कुनै पनि आर्थिक सम्बन्ध छैन ।

अन्त्यमा, हामी हाम्रो जीवनजस्तै पारदर्शी नेपाली समाज हेर्न चाहन्छौँ ।  मानिसहरूलाई मूल मुद्दाबाट भड्काउने मनशायले हाम्रो चरित्र हत्या नगर्न सम्बन्धित सबैलाई हामी पुनः आग्रह गर्दछौँ ।  धन्यवाद ।

बारबरा फाउन्डेसन

मिति: २०८२/०५/२९