प्रेस बक्तव्य – बारबरा फाउन्डेसन कोभिड–१९ विशेष सम्मान

यतिबेला नेपाल लगायत विश्व मानव जाति कोरोना भाइरसद्वारा सिर्जित महासंकटसँग जुधिरहेको छ । महासंकटका बेला म सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुरक्षित रहन म विनम्रतापूर्वक हार्दिक अपिल गर्दछु । धैर्य र संयमतापूर्वक विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले निर्धारण गरेका स्वास्थ्य सम्बन्धी मापदण्दलाई पूर्ण रुपमा पालना गर्दै आफू, परिबार र समुदायलाई सुरक्षित राख्ने अभियानमा सरिक हुनुहुन म आग्रह गर्दछु । साथै यस क्षणमा म नेपाली जातिले सनातनदेखि पालना गर्दै आएको प्रेम, सद्भाव, सम्मान र करुणा यी चार शब्द सम्झँदै कोरोना महामारीका बेला यी चार शब्दको बास्तविक भाव प्रकट गर्ने बेला आएको संस्मरण गराउन चाहन्छु ।

कोरोना महासंकटको सुरुदेखि नै न्युनतम सुरक्षाका साधन जस्तै मास्क, पीपीईको अभावमा काम गरिरहेका डाक्टर, नर्स लगायत अस्पतालका अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीप्रति म उच्च सम्मान प्रकट गर्दछु । आज पनि स्वास्थ्यकर्मीहरु झन् उच्च जोखिममा काम गरिरहेका छन् । सीमित स्रोत र साधनका बावजुद पनि कोभिड–१९ को महामारीको अग्रपंक्तिमा अहोरात्र खट्ने स्वास्थ्यकर्मीहरु नै हुनुहुन्छ । उहाँहरुले निर्वाह गरिरहेको कर्तव्यलाई हामी कसैले भुल्न सक्दैनौं । यो कोरोना जस्तो महासंक्रमणको अत्यधिक र पहिलो जोखिममा पनि उहाँहरु नै हुनुहुन्छ । त्यस्तै नेपालमा कोभिड–१९ महामारीको सुरुवातदेखि नै अग्रपंक्तिमा रही काम गर्ने मध्ये सुरक्षाकर्मीहरु पनि हुनुहुन्छ । नेपाली स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले देशभर निर्वाह गरिरहेको कर्तव्यलाई हामी सबैले नतमस्तक भई सम्मान प्रकट गरौं ।

अग्रपंक्तिमा रहेर काम गर्ने यी दुई जनस्वास्थ्य र सुरक्षा क्षेत्रका व्यक्तिहरु जसले कोरोना जस्तो डरलाग्दो महामारीको कुनै प्रवाह नगरी दिनरात नेपालीको सेवामा खटिरहनु भएको छ । त्यो समुह अथाह छ । त्यसलाई हामी हरेक नेपालीले हरेक तह र तप्काबाट सम्मान प्रकट गर्नै पर्दछ । त्यो सम्मानले मात्र स्वास्थ्यकर्मीलाई यो महासंकटमा काम गर्ने साहस मिल्न जानेछ । जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने चिकित्सक र नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरुको कदर स्वरुप बारबरा फाउन्डेसनले विशेष सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

कोरोना सिर्जित महासंकटका बेला अग्रपंक्तिमा रही काम गर्ने स्वास्थ्यकर्मी जो आफ्नो नियमित जिम्मेवारीभन्दा पनि माथि उठी रोकथाममा उत्कृष्ट योगदान गर्ने चिकित्सक र नर्सलाई बारबरा फाउन्डेसन विशेष सम्मान प्रदान गर्ने निर्णय भएको जानकारी गराउन पाउँदा मलाई खुशी लागेको छ । साथै अग्रपङ्तिमा कार्य गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका एक÷एक जना उत्कृष्ट राष्ट्र सेवकलाई पनि बारबरा फाउन्डेसन विशेष सम्मान प्रदान गर्ने छ ।

काठमाडौं उपत्यका र देशभरका सरकारी तथा सामुदायिक अस्पतालमा कोरोना संक्रमण विरुद्धको अभियानमा कार्यरत रही निर्णायक मण्डलले उत्कृष्ट ठहराएका चिकित्सक तथा नर्सहरुलाई यो बारबरा फाउन्डेसन विशेष सम्मान प्रदान गरिने छ । सम्मानको राशि २–२ लाख नेपाली रूपैयाँको हुनेछ । सुरक्षाकर्मीको हकमा रू १–१ लाखको हुनेछ ।

चिकित्सक तथा नर्सहरुको छनौट गर्न नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. भगवान कोइरालाको अध्यक्षतामा नेपाल मेडिकल एशोसियसनका अध्यक्ष डा. लोचन कार्की र नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा. गोमादेवी निरौला श्रेष्ठलाई निर्णयक समितिमा रहनका लागि आग्रह गरिएको छ । बारबरा फाउन्डेसन विशेष सम्मान कोरोना रोग नियन्त्रणका लागि कार्यरत चिकित्सा सम्बन्धी संस्थालाई पनि प्रदान गर्न सकिने छ । बारबरा फाउन्डेसनको सानो प्रयासले संकटको यस घडीमा कार्यरत चिकित्सक, नर्स र सुरक्षाकर्मीको मनोबल उच्च बनाउन मद्धत पुग्ने फाउन्डेसनका सदस्य तथा शुभेच्छुकहरुको विश्वास छ ।

सन्दुक रुइत
अध्यक्ष
बारबरा फाउन्डेसन
मिति: २०७७ भदौं १५ गते सोमबार ।